जोन्सनको १४ लाख ५७ हजार डोज आज नेपाल आउँदै
काठमाडौं । एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपको १४ लाख ५७ हजार डोज आज नेपाल आउँदै छ । २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये दोस्रो पटक आज आउँन लागेको हो । बिहीबार (हिजो) पहिलो पटकमा ७ लाख १९ हजार ६५० डोज खोप नेपाल आइसकेको छ ।
जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत यो खोप उपलब्ध गराएको हो । जर्मन सरकारले नेपालमा १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप समेत उपलब्ध गराएको छ । उक्त खोप गत आइताबार नेपाल आइसकेको छ । यसअघि अमेरिकाले कोभ्याक्स मार्फत करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो। जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ । अन्य खोप भने दुई डोज लगाउनु पर्छ ।
