कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । बुधबार राति प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ उपभापतिमा निर्वाचित भएका निर्वाचन समितिले घोषणा गरेको छ ।
निर्वाचन समितिका अनुसार खड्काले २ हजार १२१ र गुरुङले १ हजार ९०८ मत पाए । त्यस्तै, विजयकुमार गच्छदारले १ हजार ९०६, चन्द्र भण्डारीले १ हजार ५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका थिए । १४ औं महाधिवेशनमा खड्का र गच्छदार देउवा प्यानलबाट, गुरुङ र भण्डारी शेखर कोइराला प्यानलबाट, सुजाता कोइराला प्रकाशमान सिंह प्यानलबाट र दिव्यश्वरी शाह विमलेन्द्र निधि प्यानलबाट उम्मेदवार बनेका थिए ।
आचार्यले कुनै प्यानलमा नरही उम्मेदवारी दिएका थिए । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको नतिजा सार्वजनिक भइसकेको छ भने अब महामन्त्री पदको मतगणना बिहीबार विहान ८ बजेदेखि हुनेछ । कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका हुन् । उनले दोस्रो चरणको निर्वाचनमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै सभापतिमा पद हासिल गरेका हुन् । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खस्दा देउवाले २ हजार ७३३ मत पाए भने कोइरालाले १ हजार ८५५ मत पाएका थिए । ३५ मत भने बदर भएको थियो । पहिलो चरणको निर्वाचनमा सभापति पदका पाँच प्रतिस्पर्धीमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि पुनः दोस्रो चरणमा निर्वाचन भएको थियो ।
