प्रचण्ड र माधव नेपाल अस्थिरताका संवाहक हुन् – ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अस्थिरता पैदा गराउन सबैभन्दा ठूलो हात प्रचण्डको भएको बताएका छन् । पार्टी केन्द्रीय सदस्यहरुको शपथ ग्रहण समारोहलाई बुधबार सम्बोधन गर्दै ओलीले प्रचण्डलाई अस्थिरताको संवाहक भन्दै आरोप लगाए ।
उनले अस्थिरताको संवाहक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल पनि भएको दावी गरे । ‘अहिले नियन्त्रित अस्थिरता मच्चाउन तत्वहरु सक्रिय छन् । ती शक्तिमा सबैभन्दा चर्कोगरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी । सबैभन्दा बढी अस्थिरताका संवाहक तत्वहरु यिनीहरु नै हुन्, ’, उनले भने, ‘कुनै भ्रम राख्नु पर्दैन र यस्ता अस्थिरताका शक्तिहरुसँग एकता गरेर कहाँ पुगिन्छ ? तिनका कनेक्सन कहाँ छ, त्यो हामीले देखेका छौँ ।’
ओलीले आउँदै गरेको चिर्वाचनले देशको मुलशक्ति कुन हो भन्ने प्रमाणित गरिदिने बताए । निर्वाचनमा एमाले देशकै पहिलो पार्टी बन्ने निश्चित रहेको उनले बताए । महाधिवेशन सम्पन्न भइसकेको र एमाले अब गाउँटोलसम्म संगठन सुदृढ बनाउन लागिपरेको समेत ओलीले बताए ।
