देउवालाई गुरुङले पनि समर्थन गर्ने

तु खबर संवाददाता
२०७८ मंसिर २८, मंगलवार १५:३५

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेरबहादुर देउवालाई सभापतिकै अर्का प्रत्यासी कल्याण गुरुङले पनि समर्थन गर्ने भएका छन् । पहिलो चरणको निर्वाचनमा गुरुङले २२ मत प्राप्त गरेका थिए । उनले आफ्ना मतदातासँग मंगलबार बिहान छलफल गरी पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्न सभापतिमा देउवालाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिए ।

यसअघि सभापतिका उम्मेदवार प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई नै समर्थन गर्ने घोषणा गरिसकेका छन् । महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुन लागेको हो । पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ । आजै साढे ३ बजेदेखि मतदान सुरु हुनेछ ।