कांग्रेस सभापतिको उम्मेदवारी दर्ता गर्न ३० हजार शुल्क

तु खबर संवाददाता
२०७८ मंसिर २५, शनिबार १०:२५

काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रकृया सुरु हुँदैछ । निर्वाचन समितिका अनसार आज १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । यसपटक कांग्रेस सभापतिको उम्मेदवारका लागि ३० हजार शुल्क तोकिएको छ ।

यस्तै, उपसभापति र महामन्त्रीका लागि २५÷२५ हजार, सहमहामन्त्रीका लागि २० हजार तोकिएको छ भने केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तोकिएको छ । यस्तै, महाधिवेशन अन्तरगत मंसिर २६ गते बिहान ११ बजेसम्म मनोनयन पत्र फिर्ता लिन, १२ः १५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न समय तोकिएको र मंसिर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ। यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।