एमाले स्थायी कमिटी गठनको तयारी

तु खबर संवाददाता
२०७८ मंसिर २०, सोमबार १६:५५
file-photo

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी गठन गरेको छ । स्रोतका अनुसार, पार्टीका नवनियुक्त अध्यक्ष केपी शर्मा ओली र उनी निकटका पदाधिकारीहरुलाई स्थायी कमिटीमा ल्याउने तयारी रहेको छ । पदाधिकारीमा निर्वाचित १९ जनाबाहेक २६ जना नेतालाई एमालेले स्थायी कमिटीमा लैजानुपर्नेछ ।

स्रोतका अनुसार, अघिल्लो स्थायी कमिटीका सदस्य रघुजी पन्त, घनश्याम भूसाल, किरण गुरूङ, मणि थापा र भीम आचार्य स्वतः स्थायी कमिटी सदस्यमा मनोनित हुनेछन् । पार्टीको दशौं महाधिवेशनबाट यी नेताहरु पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । तत्कालीन उपाध्यक्ष भीम रावलले भने केन्द्रीय सदस्यको समेत शपथ नलिने बताइसकेका कारण उनलाई ओलीले स्थायी कमिटीको लिस्टमा राखेका छैनन् ।

एमालेले मंसिर २६ र २७ गते बोलाएको पार्टी केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी र पोलिटव्यूरो कमिटी गठन गर्ने तयारी गरेको छ । त्यसका लागि अध्यक्ष ओलीले आफू निकट नेताहरुसँग परामर्श गरिरहेका छन् । एमालेको विधानअनुसार स्थायी कमिटी ४५ र पोलिटव्यूरो ९९ सदस्यीय हुनेछ ।