को हुन् कांग्रेस बागमती सभापति निर्वाचित इन्द्रबहादुर बानियाँ ?
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागमती प्रदेशको निर्वाचनमा सभापति पदमा मकवानपुरका इन्द्रबहादुर बानियाँ १५८ मतले विजयी भएका छन् । बानियाँले १ हजार ८५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी जगदिश्वर नरसिंह केसीले ९ सय २७ मत पाएका छन् । १३ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
यसअघि शनिवार पनि मतदान भएको थियो । त्रिपक्षीय भिडन्तका कारण कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि आज आइतवार पुनः मतदान भएको थियो । बानियाँ, केसी र अर्का उम्मेदवार भीमसेनदास प्रधानबीच भएको प्रतिस्प्रर्धामा पनि बानियाँले ४८ प्रतिशत मत पाएका थिए । आइतबार प्रधानले पत्रकार सम्मेलनको आयोजना गरी बानियाँलाई समर्थन गर्ने घोषणा गरेका थिए । बानियाँ सभापतिमा योग्य भएको र भोलिको मुख्यमन्त्री समेत हुने भन्दै प्रधानले बानियाँलाई विजयी गराउन आफ्ना समर्थक तथा शुभचिन्तक हरुलाई अपिल गरेका थिए ।
को हुन् इन्द्र बानियाँ ?
बानियाँ २०४४ सालदेखि राजनीतिमा होमिएका थिए । नेपाल विद्यार्थी संघ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको समेत अनुभव हासिल गर्दै २०७३ सालमा कांग्रेस मकवानपुरका सभापति भएका थिए । २०६४ सालमा संविधानसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ उम्मेदवार बनेका ५२ बर्षीय बानियाँले कम्युनिष्टहरुको लाल किल्ला भनेर चिनिने मकवानपुरमा कम्युनिष्टको किल्ला भत्काएर २०७० सालको संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य विजयी भएदेखि निरन्तर सांसद रहेका छन् । उनले २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी संहालेका छन् ।
२०७४ सालमा मकवानपुर संघीय क्षेत्र २ को ख बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएपछि बानियाँले सर्वसम्मत रुपमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता चयन भई जिम्मेवारी सम्हालिरहेका छन् । बागमती प्रदेशसभामा बलियो प्रमुख प्रतिपक्ष र सशक्त प्रतिपक्षी दलको रुपमा नेपाली कांग्रेसलाई उभ्याउन बानियाँले आफ्नो प्रभावकारी भूमिका प्रस्तुत गरेकाले प्रदेशसभामा पनि बानियाँको धारणालाई सबै दलले अर्थपूर्ण रुपमा लिने गरेका छन् । राजनीतिक, सामाजिक एवं आर्थिक क्षेत्र सबैमा बानियाँलाई एक विश्वासिलो व्यक्तित्वको रुपमा लिने गरिएको उनलाई चिन्नेहरु बताउँछन् ।
