कांग्रेस बागमतीको सभापतिमा पुनः मतदान साढे ११ बजेपछि हुने

तु खबर संवाददाता
२०७८ मंसिर १९, आईतवार १०:३०

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको अधिवेशन अन्तरगत सभापतिको पुनः मतदान आज (आइतबार) साढे ११ बजेदेखि हुने भएको छ । शनिबार भएको निर्वाचनमा सभापतिको लागि उम्मेदवारी दिएकामध्ये कसैको पनि ५१ प्रतिशत मत नपुग्दा पुनः मतदान हुने भएको प्रदेश निर्वाचन अधिकृत केशव प्रसाद काफ्लेले जानकारी दिए ।

निर्वाचन अधिकृत काफ्लेका अनुसार, कांग्रेसको बिधानमा सभापतिमा खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ । सो प्रावधान नपुगेकोले सभापति पदका लागि पुनः मतदान हुने भएको हो । पुनः मतदानका लागि तयारी भइरहेको छ । कांग्रेस बागमती प्रदेशको सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये इन्द्रबहादुर बानियाँले ९ सय ९२,जगदिश्वर नरसिंह केसीले ८ सय ७७ र भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका छन् ।

बानियाँले कुल मतको ४८ प्रतिशत मत प्राप्त गरेका छन् ।  मतगणनाको सुरुवातदेखि नै बानियाँले लिड लर्दै आइरहेका थिए । दोस्रोमा केसी थिए भने तेस्रोमा प्रधान रहेका थिए । यसअघि हिजो भएको मतदानमा २ हजार ८३ मत खसेको थियो । २ हजार १ सय ५१ जना प्रतिनिधि सहभागी रहेको भएपनि २ हजार ८३ मत खसेको थियो ।