कांग्रेसको बागमती अधिवेशन : बानियाँलाई जित्न जम्मा ३ प्रतिशत मत पुगेन, पुनः मतदान हुने

तु खबर संवाददाता
२०७८ मंसिर १९, आईतवार ०४:४६
file-photo

नेपाली कांग्रेस बागमती प्रदेश सभापतिको मत गनेर सकिएको छ । मत परिणाम अनुसार, इन्द्रबहादुर बानियाँले ९ सय ९२  मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ८ सय ७७ मत पाएका छन् भने भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका छन् । यस हिसाबले अब सभापति पदमा पुनः मतदान हुने भएको छ । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेका कारण पुनः मतदान हुने भएको हो । बानियाँले कुल मतको ४८ प्रतिशत मत प्राप्त गरेका छन् ।

जम्मा बदर भएको मतको संख्या १० रहेको निर्वाचन समितिले जनाएको छ । बाँकी १२ जनाले सभापति पदमा मत नदिएको मतदान अधिकृत रामकुमार अधिकारीले तु खबरलाई जानकारी दिए ।

मतगणनाको सुरुवातदेखि नै बानियाँले लिड लर्दै आइरहेका थिए । दोस्रोमा केसी थिए भने तेस्रोमा प्रधान रहेका थिए । यसअघि हिजो भएको मतदानमा २ हजार ८३ मत खसेको थियो । २ हजार १ सय ५१ जना प्रतिनिधि सहभागी रहेको भएपनि २ हजार ८३ मत खस्यो । विहानबाट हुने भनिएको मतदान साँझबाट मात्रै सुरु हुन सक्यो । तर, लगत्तै गरिएको मतगणनाले मतदान पुनः गर्नुपर्ने स्थिति बनाइदिएको हो ।