कांग्रेस अधिवेशन : मतदान अधिकृतद्वारा राजीनामा
महोत्तरी । नेपाली कांग्रेस महोत्तरी निर्वाचन क्षेत्र नम्वर ३ का क्षेत्रीय अधिवेशनका मतदान अधिकृत धिरेन्द्र मण्डलले राजनीनामा दिएका छन् । उनले महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा अवैधानिकरुपमा प्रमाणपत्र लिएको र आफूलाई यस विषयमा जानकारी नरहेको भन्दै उनले आपत्ति जनाउँदै राजीनामा दिएका हुन् ।
गत मंसिर १५ मा सहमतिमार्फत क्षेत्रीय अधिवेशन गर्ने सहमति भए पनि महोत्तरी निर्वाचन क्षेत्र नम्वर ३ को क्षेत्रीय अधिवेशन अन्तर्गत बन्द सत्र स्थगित गरेको थियो । बन्द सत्रको क्रममा होहल्लापछि स्थगित गर्नु परेको मतदान अधिकृत मण्डलले बताए । मण्डलले जारी गरेको विज्ञप्तिमा शुक्रबार साँझ एक समूहले जनकपुरधाम वडा नम्वर ८ स्थित आफ्नै घरबाट अपहरण गरेर आफुखुसी अवैधानिक तरिकाले प्रमाणपत्र लिएको भन्दै सो प्रमाणपत्र रद्द गर्नुपर्ने माग गरेका छन् ।
त्यहाँ आफूले क्षेत्रीय अधिवेशन गराउन नसक्ने भन्दै राजीनामा दिएको मण्डलले स्पष्ट पारेका छन् । महोत्तरीको बाँकी ३ वटा क्षेत्रमा अधिवेशन भइसकेको छ । महोत्तरीको क्षेत्र नम्बर–१ मा महेश झा, क्षेत्र नम्बर–२ मा राजकरण साह र क्षेत्र नम्बर–४ मा उत्तिम यादव सर्वसम्मत चयन भएका छन् ।
