अझै सुरु भएन कांग्रेस बागमती प्रदेशको मतदान
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन अन्तरगत हेटौंडामा आज (शनिबार) बिहानैदेखि सुरु हुने भनिएको मतदान अझै पनि सुरु हुन सकेको छैन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टी) खेल मैदानमा बिहान ९ बजेबाट मतदान सुरु हुने भनिए पनि मतपत्र छाप्नेलगायत विभिन्न प्राविधिक समस्याका कारण मतदान समाचार तयार पर्दासम्म पनि सुरु हुन नसकेको प्रदेश निर्वाचन समितिले जनाएको छ ।
प्रदेश निर्वाचन समितिका अनुसार, अब केही समयभित्रै नयाँ नेतृत्व चयनको लागि मतदान हुनेछ । त्यसको लागि तयारी भइरहेको छ । आज हुन लागेको मतदान प्रक्रियामा सुरक्षा व्यवस्था कडा पारिएको छ । मुल गेटबाटनै सुरक्षाकर्मी परिचालन गरी सुरक्षामा कडाई गरिएको निर्वाचन समितिले जनाएको छ ।
मुलगेटबाट सचिवालयसम्म टाँसिएको प्रचारप्रसारका सामाग्रीहरु हटाइएको छ । सभापति पदको लागि तीन जनाको उम्मेदवारी रहेको छ । विभिन्न १० वटा मतदान केन्द्र बनाएर मतदान गरिने व्यवस्था मिलाइएको छ । अधिवेशनमा १ हजार २ सय ४५ केन्द्रीय महाधिवेशन प्रतिनिधि, ८७६ प्रदेश प्रतिनिधि र १६ केन्द्रीय सदस्य गरी जम्मा २ हजार १३७ जनाले नयाँ नेतृत्व चयनका लागी सहभागीता जनाउँदै छन् ।
यस्तो छ कांग्रेस बागमती मतदान स्थल ।







