कांग्रेस बागमती प्रदेशको सभापतिमा बानियाँद्वारा उम्मेदवारी दर्ता

तु खबर संवाददाता
२०७८ मंसिर १७, शुक्रबार १४:४३
file-photo

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस बागमतीको हेटौंडामा जारी अधिवेशनमा सभापतिको लागि बानियाँले उम्मेदवारी दर्ता गराएका हुन् । आज पत्रकार सम्मेलन गरेर प्यालन घोषणा गरेका बानियाँले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले शेरबहादुर देउवा पक्षको तर्फबाट कांग्रेस बागमतीको सभापति पदमा उम्मेदवार दर्ता गराएका हुन् । कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन बिहिबारबाट हेटौंडामा सुरु भएको छ । जारी अधिवेशन अन्तरगत आज दोस्रो दिन मनोनयन दर्ता गराउने समयतालिका अनुसार, बानियाँले सभापतिमा उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन समिति बागमती प्रदेशका संयोजक वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्लेले जानकारी दिए । सभापतिमा उम्मेदवारी दर्ता गराएका बानियाँको प्रस्तावकमा तीर्थ लामा र सर्मथकमा दुर्लभ थापा रहेका छन् ।

निर्वाचन अधिकृत काफ्लेका  अनुसार, आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तालिका तोकिएको थियो । कांग्रेस सभापति पदका लागि यसअघि जगदीश्वरनरसिंह केसीले पनि आफ्नो प्यानसहित उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचनअन्तर्गत भोलि मंसिर १८ गते बिहान ९ बजेदेखि मतदान हुनेछ । प्रदेश प्रतिनिधिको रुपमा चुनिएर आएका करिब २ हजार १ सयभन्दा बढीले प्रदेश समिति निर्वाचनमा मतदान गर्नेछन् । उक्त अधिवेशनबाट प्रदेश सभापति १ जना, उपसभापति २ जना, महामन्त्री २ जना, सहमहामन्त्री ३ जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ । प्रदेशको संरचनाअनुसार कांग्रेसको प्रदेश निर्वाचन पहिलोपटक हुन लागेको हो ।