कांग्रेस बागमतीको सभापति पदमा जगदीश्वरनरसिंह केसीको उम्मेदवारी दर्ता
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिका लागि जगदीश्वरनरसिंह केसीले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस बागमतीको हेटौंडामा जारी अधिवेशनमा सभापतिको लागि केसीले उम्मेदवारी दर्ता गराएका हुन् । बिहिबार पत्रकार सम्मेलन गरेर प्यालन घोषणा गरेका केसीले शुक्रबार सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले रामचन्द्र पौडेल पक्षको तर्फबाट कांग्रेस बागमतीको सभापति पदमा उम्मेदवार दर्ता गराएका हुन् । कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन बिहिबारबाट हेटौंडामा सुरु भएको छ । जारी अधिवेशन अन्तरगत आज दोस्रो दिन मनोनयन दर्ता गराउने समयतालिका अनुसार, केसीले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेश निर्वाचन समिति बागमती प्रदेशका संयोजक वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्लेका अनुसार, आज बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तालिका तोकिएको छ ।
निर्वाचनअन्तर्गत भोलि मंसिर १८ गते बिहान ९ बजेदेखि मतदान हुनेछ । प्रदेश प्रतिनिधिको रुपमा चुनिएर आएका करिब २ हजार १ सयभन्दा बढीले प्रदेश समिति निर्वाचनमा मतदान गर्नेछन् । उक्त अधिवेशनबाट प्रदेश सभापति १ जना, उपसभापति २ जना, महामन्त्री २ जना, सहमहामन्त्री ३ जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ । प्रदेशको संरचनाअनुसार कांग्रेसको प्रदेश निर्वाचन पहिलोपटक हुन लागेको हो ।
