कांग्रेस बागमती प्रदेश अधिवेशन : आज मनोनयन दर्ता
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन अन्तरगत आज (शुक्रबार) मनोनयन दर्तादेखि उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने समय तालिका रहेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टी) मा भएको अधिवेशनअन्तरगत आज मनोनयन दर्तादेखि उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको प्रदेश निर्वाचन समिति बागमती प्रदेशका संयोजक वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार, आज बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तालिका रहेको छ । यस्तै, आज दिउँसो १ बजेदेखि २ बजेसम्म उम्मेदवारमाथि दावी विरोध गर्ने, दावी विरोध परेमा दिउँसो ३ बजेसम्ममा निर्णय भइसक्नेछ । दिउँसो ३ बजेदेखि ४ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रमअनुसार पहिलो नाम प्रकाशित गर्ने कार्यक्रम रहेको प्रदेश निर्वाचन समिति संयोजक काफ्लेले जानकारी दिए ।
उनका अनुसार मनोनयन फिर्ता लिने समय साँझ ४ बजेदेखि ५ बजेसम्म समय तोकिएको छ । आज साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ । निर्वाचनअन्तर्गत भोलि मंसिर १८ गते बिहान ९ बजेदेखि मतदान हुनेछ । प्रदेश प्रतिनिधिको रुपमा चुनिएर आएका करिब २ हजार १ सयभन्दा बढीले प्रदेश समिति निर्वाचनमा मतदान गर्नेछन् ।
उक्त अधिवेशनबाट प्रदेश सभापति १ जना, उपसभापति २ जना, महामन्त्री २ जना, सहमहामन्त्री ३ जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ । बिहीबार अधिवेशन उद्घाटनसँगै साँझ मतदाता नामावली सार्वजनिक गरिएको छ । प्रदेशको संरचनाअनुसार कांग्रेसको प्रदेश निर्वाचन पहिलोपटक हुन लागेको हो ।
