पार्टी अधिवेशन लगत्तै चुनावतर्फ केन्द्रित हुन देउवाको निर्देशन
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्ताहरुलाई दिर्नेशन दिएका छन् । बिहिबार कांग्रेस बागमतीको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै सभापति देउवाले केही समयभित्रै हुने संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा लाग्न निर्देशन दिएका हुन् ।
सभापति देउवाले केही महिनाभित्रै स्थानीय तहको, एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशन लगत्तै चुनाव तर्फ केन्द्रित हुन निर्देशन दिएका हुन् । उनले पार्टीभित्रको आन्तरिक चुनावमा हारजित हुनु स्वाभाविक भन्दै यो विषयमा धेरै नअलमलिन आग्रह गरे । प्रधानमन्त्री देउवाले प्रदेश अधिवेशनमा नेपाली कांग्रेसलाई थप सशक्त र बलियो बनाएर जनताको मन जित्ने रणनीति बनाउने विषयमा पनि छलफल गर्न आग्रह गरे ।
लोकतन्त्र बलियो भए मात्रै मुलुक समृद्ध हुने भन्दै विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्नसक्ने उनको भनाई छ । कांग्रेस बागमतीको बिहिबारबाट सुरु भएको प्रथम अधिवेशन अन्तरगत भोलि मनोनय दर्ता हुने र मंसिर १८ गते शनिबार अन्तिम नामावली प्रकाशन भए अनुसार, निर्वाचन हुने कांग्रेस मकवानपुरले जनाएको छ । नेपाली कांग्रेस बागमती प्रदेश कमिटीको लागि १३ जिल्लाका पार्टी सभापति तथा महासमितिमा सदस्यहरुसमेत गरी १ हजार ९ सय ६० मतदाता रहेको छ ।
