कांग्रेसमय बन्यो हेटौंडाः उद्घाटन समारोहअघि यस्तो देखियो (फोटोफिचर)

तु खबर संवाददाता
२०७८ मंसिर १६, बिहीबार १३:०९

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिको अधिवेशन आज बिहिबारबाट हेटौंडामा सुरु हुँदैछ । हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टी) को मैदानमा प्रदेश अधिवेशनको उद्घाटन कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने अधिवेशन सचिवालयका संयोजक एवम् मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिएका छन् ।

अधिवेशनको लागि आवश्यक तयारी पूरा भइसकेको प्रवक्ता कोइरालाको भनाई छ । अन्य जिल्लाबाट आउने प्रदेश प्रतिनिधि, केन्द्रीय महाधिवेशन प्रतिनिधि, पदाधिकारीहरु, केन्द्रीय नेतागण सबैलाई खाना तथा आवासको प्रबन्ध मिलाइएको उनले बताए । सबै जिल्लाबाट आउने पाहुनाहरुको स्वागत तथा व्यवस्थापनका लागि संयोजक तोकिएको र संयोजकले ती काम पुरा गर्ने उनले बताए ।

उद्घाटन सभारोहका लागि हेटौंडाको बुद्धचोकबाट करिब १० हजार नेता कार्यकर्ताको र्याली निकालेर फरेष्टीमा पुग्नासाथ सभामा परिणत हुने उनको भनाई छ । कार्यक्रमको लागि सुरक्षाको प्रबन्ध मिलाइएको र कांग्रेसको तर्फबाट पनि स्वयम् सेवक खटाइएको उनले बताए ।
बजारका मुख्यमुख्य स्थानमा कांग्रेसको झण्डा तथा प्रचारजन्य सामग्री टाँगिएको छ ।

उद्घाटन सभारोहको लागि मञ्च व्यवस्थापन मिलाइसकिएको छ । कोही विरामी परेमा तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य सेवा प्रवाह हुनेगरी अस्थायी स्वास्थ्य पोष्ट स्थापना गरिएको छ । एम्बुलेन्सको व्यवस्थापन मिलाइएको छ । प्रदेशको संरचनाअनुसार कांग्रेसको प्रदेश निर्वाचन पहिलोपटक हुँदैछ । बागमती प्रदेश अधिवेशनमा १८ गते मतदान हुने निर्वाचन कार्यतालिका छ ।