एमाले अध्यक्षका लागि केपी ओलीद्वारा उम्मेदवारी दर्ता
काठमाडौं । नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । पार्टीके सौराहमा जारी १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको लागि ओलीले उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष ओलीले आफूसहित १९ जना पदाधिकारीको सूची घोषणा गरेका थिए । सोही घोषणा अनुसार उनले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै, एमाले अध्यक्षका लागि पार्टीका उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी दर्ता गरेका छन् । हिजै फारम लिएका उनले सोमबार निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
जारी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पेलेरै अघि बढ्न खोजेको भएपनि अन्नत निर्वाचन हुने नै भएको छ । बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गरेका थिए । मध्यरातमा शुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे छलफल गरेका थिए । उनले अध्यक्ष मण्डलमै रहेका रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव समेत गरेका थिए । तर, रावलले उनको प्रस्तावलाई अस्वीकार गरेका थिए ।
यस्तै पार्टीको ६ उपाध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष ओलीले घोषणा गरेको सूचीमा नपरेका घनश्याम भुसालले पनि उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी उपाधयक्षका लागि विष्णु पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, सचिवमा प्रदीप ज्ञवाली र भीम आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।
