एमाले महाधिवेशन : ओलीले पेस गरेको ३०१ केन्द्रीय सदस्यमा मकवानपुरका ४ जना

तु खबर संवाददाता
२०७८ मंसिर १३, सोमबार ०८:२९

मकवानपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औँ महाधिवेशनको सौराहमा जारी बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम पेस गरेका छन् । गएराति पेस गरेको केन्द्रीय सदस्यको नामावलीमा मकवानपुरका ४ जनाको नाम प्रस्ताव गरेका हुन् । ओलीले केन्द्रीय सदस्यमा प्रस्ताव गरेका नाममा खुलातर्फ मकवानपुरका कृष्ण दाहाल, खुला महिलातर्फ भारती पाठक, जनजातितर्फ जुनेली जेष्ठ र बागमतीबाट रामेश्वर राना रहेका छन् ।

बन्दसत्रले अध्यक्ष ओलीले प्रस्ताव गरेका केन्द्रीय सदस्यहरुको नाम अनुमोदन गरेको छ । अध्यक्ष ओलीले महाधिवेशन बन्दसत्रमा प्रस्ताव गरेका ३०१ जना सदस्यहरुको नाम नै अनुमोदन भएको हो । शनिबारको बन्दसत्रले अध्यक्ष ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार प्रदान गरेबमोजिम नाम प्रस्ताव गरेका थिए ।

अध्यक्ष ओलीले बन्दसत्रमा आफुसहित १९ पदाधिकारीको नाम पनि प्रस्ताव गरेका थिए । उनले प्रस्ताव गरेको पदाधिकारीमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल छन् । यसैगरी उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य , सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, सुवास नेङ्वाङ र विष्णु पौडेललाई प्रस्ताव गरिएको छ । यसैगरी, उनले महासचिवमा शङ्कर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवमा टोपबहादुर रायमाझी, रघुविर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्यमा अर्याललाई प्रस्ताव गरेका हुन् ।

ओलीले सहमतिका लागि नामहरु प्रस्तुत गरिएको भएपनि भीम रावल र घनश्याम भुसाललाई भने आफ्नो टिममा अटाएनन् । ३०१ केन्द्रीय कमिटीको नाम प्रस्ताव गर्दा भने ओलीले भीम रावल र घनश्याम भुसाललाई पनि त्यसमा राखेका छन् । यसअघि रावलले पार्टीका अध्यक्ष र भुसालले उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका थिए । यद्यपी सो पदमा भने निर्वाचन हुने सम्मभावना बढेको छ ।