एमाले महाधिवेशन : केपी ओलीले छाने १९ पदाधिकारी (नामावलीसहित)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा आफूसहित १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गरेका छन् । एमालेको सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत गएरातिको बन्दसत्रमा पार्टी अध्यक्ष ओलीले प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश गरेका हुन् ।
उनले बन्दसत्रमा १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाएका हुन् । पदाधिकारीमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल छन् । यसैगरी उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य , सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, सुवास नेङ्वाङ र विष्णु पौडेललाई प्रस्ताव गरिएको छ । यसैगरी, उनले महासचिवमा शङ्कर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवमा टोपबहादुर रायमाझी, रघुविर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्यमा अर्याललाई प्रस्ताव गरेका हुन् ।
ओलीले सहमतिका लागि नामहरु प्रस्तुत गरिएको भएपनि भीम रावल र घनश्याम भुसाललाई भने आफ्नो टिममा अटाएनन् । ३०१ केन्द्रीय कमिटीको नाम प्रस्ताव गर्दा भने ओलीले भीम रावल र घनश्याम भुसाललाई पनि त्यसमा राखेका छन् । यसअघि रावलले पार्टीका अध्यक्ष र भुसालले उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका थिए । यद्यपी सो पदमा भने निर्वाचन हुने सम्मभावना बढेको छ ।
