हेटौंडा अस्पताललाई ‘ए ग्रेड’ को एम्बुलेन्स हस्तान्तरण
मकवानपुर । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा अस्पताललाई आइतबार ‘ए ग्रेड’को एम्बुलेन्स हस्तान्तरण गरेका छन् । नेपाल भारत सहयोगले सरकारलाई उपलब्ध गराएको अत्याधुनिक सुविधायुक्त सो एम्बुलेन्स मन्त्री खतिवडाले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई हस्तान्तरण गरेका हुन् ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले हेटौंडा बागमती प्रदेशको राजधानी भएकोले यहाँ प्रदेशस्तरको अस्पतालका रुपमा हेटौंडा अस्पताललाई स्तरोन्नती गरिनुपर्ने र त्यसका लागि मन्त्रालयको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।
उनले भने ‘ यो त सुरुवात मात्रै हो, हेटौंडा अस्पताललाई कसरी स्तरोन्नती गर्न सकिन्छ भन्ने विषयमा अस्पताल व्यवस्थापन समिति गम्भीर हुनुपर्छ । मन्त्रालयको तर्फबाट मैले सक्नेजती सहयोग उपलब्ध गराउँछु ।’ अस्पतालको भवन निर्माण, स्वास्थ्य उपकरणको उपलब्धता र दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने बताए । अस्पताललाई हस्तान्तरण गरिएको एम्बुलेन्समा आइसियू तथा बेडको सुविधा रहेको छ । सो एम्बुलेन्समा चिकित्सकहरुले विरामीहरुलाई आपतकालिन स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने छन् ।

