मन्त्रिपरिषद् निर्णय : मोतिपुर घटनाका मृतक परिवारलाई ५ लाख ५० हजार रुपैयाँ दिने
काठमाडौं । सरकारले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोतिपुर घटनाका मृतक परिवारलाई ५ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको हो । सो बैठकले पाँच लाख रुपैयाँ आर्थिक सहयोग र ५० हजार रुपैयाँ किरिया खर्च दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
गत असोज २४ गते एक समूहले बुटवलमा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्दा स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो । सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढी घाइते भएका थिए । यसअघि प्रदेश सरकारले मोतिपुर घटनामा मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो । यस्तै, सरकारले नेपाल कृषि तथा वन सेवा समूहतर्फ राजपत्रांकित विशिष्ट श्रेणीको पदमा निरु दाहाल पाण्डेलाई बढुवा गर्ने निर्णय गरेको छ । कीर्तिपुर नगरपालिका र चीनको हुवाइ प्रान्त हु ह्याङ शहरबीच भगिनी सम्बन्ध स्थापना गर्न अनुमति दिने सरकारले निर्णय गरेको छ ।
