बागमती प्रदेशः दिउँसो १ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशसभाको आज दिउँसो ३ बजे बस्ने बैठकको कार्यसूचि तय गर्न सभामुख सानुकुमार श्रेष्ठले दिउँसो १ बजेको लागि कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । सो बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्तावबारे छलफल गरिने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिएका छन् ।
नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डे ४ दलीय गठबन्धनको तर्फबाट गएको कात्तिक ४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको पहिलो बैठकले नै कात्तिक २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिने विषयमा निर्णय गरी प्रदेशसभा सचिवालयमा आधिकारिक पत्रसमेत दर्ता गरिसकिएको छ ।
बागमती प्रदेशसभामा अहिले १०९ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । हालको अवस्थामा पाण्डे नेतृत्वको सरकारले सजिलै विश्वासको मत प्राप्त गर्ने देखिएको छ । सरकार टिकाउन ५५ मत आवश्यक रहन्छ । गठबन्धनमा रहेका दलहरुसँग ५९ मत रहेको छ । नेकपा माओवादी केन्द्रसँग २३, कांग्रेससंग २२, नेकपा (एस) संग १३ र जनता समाजवादीसँग १ मत रहेको छ ।
मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको र मुख्यमन्त्री कार्यालयबाट प्राप्त पत्रअनुसार २२ गते विश्वासको मत लिने व्यवस्थापन मिलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । विश्वासको मत पाएसंगै मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।
उनले नेकपा माओवादी केन्द्र संसदीय दलको उपनेता कुमारी मोक्तानलाई सामाजिक विकासमन्त्री, नेपाली कांग्रेस संसदीय दलको उपनेता कृष्णप्रसाद भँडेललाई भौतिक पूर्वाधार विकासमन्त्री र नेकपा एकीकृत समाजवादी संसदीय दलको उपनेता कृष्ण खनाललाई आन्तरिक मामिला तथा कानूनमन्त्री नियुक्त गरेका थिए । अन्य मन्त्रालयको कार्यभार भने मुख्यमन्त्री आफैँले सम्हालेका छन् । स्रोतका अनुसार मुख्यमन्त्री पाण्डेले मन्त्रालय थप गर्ने तयारी गरेका छन् ।
एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेपछि कात्तिक १० गते पदबाट राजीनामा दिएकी थिइन् । ५६ सांसद रहेको एमाले पार्टी विभाजनमा १३ सांसदले एकीकृत समाजवादी रोजेपछि ४३ जनामा खुम्चिएको थियो । अल्पमतमा परे पनि केही समय सत्ता लम्ब्याएकी शाक्यले कात्तिक १० मा पदबाट राजीनामा दिएकी हुन् ।