‘बाढीपहिरो प्रभावितका लागि विशेष प्याकेज ल्याउँछौं’
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो तथा डुबानबाट प्रभावितहरुका लागि विशेष राहत प्याकेज ल्याउने बताएका छन् । आइतबार प्रदेश नं. १ को बाढीपहिरो आएको क्षेत्रको अवलोकनको क्रममा इटहरी पुगेको प्रधानमन्त्री देउवाले विशेष राहत प्याकेज ल्याउने घोषणा गरेका हुन् ।
बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षापछिको बाढीपहिरोले ठूलो क्षति गरेको उनको भनाइ छ । प्रधानमन्त्री देउवाले खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको बताए । उनले सरकारले सबैभन्दा पहिला गाँस, बास र किसानहरुको पीडामा मल्हम लगाउने काम गर्ने बताए ।
प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितको उद्धार तथा राहत कार्यमा सुरक्षाकर्मीहरुले गरेको कामको प्रशंसा गरे । सुरक्षा प्रमुखसहित स्थानीय तहका प्रमुखहरुलाई निर्देशन दिँदै उनले विपत्तिमा पूर्वाधार विकासभन्दा पनि मानवीय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ ।
