युवा तथा खेलकुद मन्त्रालयको बजेट सिलिङ घटाएकोमा मन्त्री महर्जन असन्तुष्ट

मकवानपुर र बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले आगामी आर्थिक वर्षको बजेट सिलिङ घटाएकोमा असन्तुष्टी पोखेका छन् ।
प्रदेश खेलुकद विकास परिषद्को आयोजनामा मंगलबारबाट हेटौंडामा सुरु भएको खेलकुद पत्रकारिता तालिमको उद्घाटन गर्दै मन्त्री महर्जनले प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा खेल क्षेत्रको बजेट घटाएकोमा असन्तुष्टी पोखेका हुन् ।
चालु आर्थिक वर्षको भन्दा पनि अहिले कम बजेट सिलिङ प्राप्त भएकोमा उनले असन्तुष्टी देखाउँदै यसले खेलकुद क्षेत्रको विकासलाई नै अवरोध गर्ने बताए । यसरी खेलकुद क्षेत्रको विकास संभव नभएको मन्त्री महर्जनको धारणा छ ।
राज्यले खेलकुदको महत्व नबुझ्दा खेलाडीहरु विदेश पलायन हुन बाध्य भएको बताउँदै मन्त्री महर्जनले अर्थ मन्त्रीसित कुरा गर्दा आफ्नै खल्तीबाट दिनुपर्नेजस्तो व्यवहार अर्थमन्त्रीले देखाएको पनि बताए ।
युवा तथा खेलकुद मन्त्रालयको सिलिङ बजेट जम्मा ६१ करोड रुपैयाँ मात्रै रहेको जानकारी दिँदै मन्त्री महर्जनले चालु वर्षमा यो भन्दा बढी रहेको स्मरण गराए ।