सरकार र अनसनरत खानबीच सहमति भयो
काठमाडौं । सरकार र अनसनरत रुवी खानबीच सहमति भएको छ । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सरकारले अनुसन्धान र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता गरेपछि सहमति भएको हो ।
सरकारले उक्त घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन गर्ने भएको छ । सहमति लगत्तै गृह मन्त्रालयका पदाधिकारीहरू त्रिवि शिक्षण अस्पताल पुगेर रुवी खानको अनशन तोडाएका हुन् । खानको अनसन तोडाउन गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल र मानव अधिकारकर्मी मोहना अन्सारी त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।
मन्त्रालयका सहसचिव पोखरेल र अधिकारकर्मी अन्सारीले जुस खुवाएर खानको अनसन तोडाएका हुन् । त्यसअघि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको वार्तामा छानविन समिति बनाउने, समितिमा मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहम्मद शेर बागवानलाई पनि राख्ने, ७ दिनभित्र प्रतिवेदन बुझाउने सहमति भएको थियो ।
अनसन तोडेकी रुबीले सरकारसँग भएको सहमति सम्पूर्ण महिलाहरुको जित भएको बताइन् । उनले भनिन्, समितिले सत्यतथ्य बाहिर ल्याउन कुनै चुक गर्छ भने हामी यो भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिन चाहन्छु ।’ उक्त प्रकरणमा अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै नेपालगन्जबाट रुवी खानसहितका महिला अधिकारकर्मीहरू काठमाडौँ आएर १३ दिनदेखि आमरण अनसन बसेका थिए ।
