साफ उपविजेता खेलाडीहरुलाई जनही ५ लाख दिने सरकारको घोषणा

तु खबर संवाददाता
२०७८ कार्तिक १, सोमबार १७:१६

काठमाडौँ । सरकारले माल्दिप्समा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद्को बैठकले खेलाडीहरुलाई ५/५ लाख दिने निर्णय गरेको संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । त्यस्तै सरकारले फुटबल टिमका प्रशिक्षकहरुलाई पनि प्रोत्साहनस्वरुप ३–३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

नेपाल ३० बर्षको इतिहासमा पहिलो पटक साफ च्याम्पियनको फाइनलमा पुगेको थियो । शनिवार सम्पन्न फाइनल खेलमा भारतसँग ३–० गोल अन्तरले पराजित भएको नेपाल उपविजेतामै सिमित बन्न पुगेको हो । भारतले यससँगै ८ औँ पटक साफ च्याम्पियनसिपको उपाधि हात पारेको छ । यसैबीच नेपाली फुटबल टोली आजै स्वदेश फिर्ता भएको छ

साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली फुटबल टोली आज स्वदेश फिर्ता भएको छ । नेपालको लागि २८ बर्षे इतिहासमा यो उपाधी सबैभन्दा ठुलो हो । सोमबार बिहान मुख्य प्रशिक्षक अब्दुल्ला अम्मुताइरी र डिफेन्डर रोहित चन्दविनासहितको टोली ३७ दिनपछि नेपाल फर्किएको हो ।  नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ ९एन्फा० का पदाधिकारीलगायतले स्वागत गरेका हुन् ।

अल्मुताइरीको नेतृत्वमा रहेको नेपालको टोली माल्दिप्समा सम्पन्न साफ च्याम्पियनसिपको झण्डै ३ दशक लामो इतिहासमा पहिलो पटक फाइनलसम्म पुग्न सफल भएको थियो । सो अवसरमा नेपाली फुटबल समर्थकको समेत बाक्लो उपस्थिति रहेको थियो । राउन्ड रोविनको अन्तिम खेलबाट फाइनल पुगेपछि प्रशिक्षक अल्मुताइरीले नेपाल नफर्किने घोषणा गरेका थिए। तर, उनले ग्यालेक्सी फोर केमा दिएको अन्तर्वातामा ६ महिनाभन्दा लामो समयदेखि राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त रहेका कारण आफूले केहि दिनको विश्राम चाहेको बताएका छन्।