कार्तिक पहिलो साताभित्रै नेकपा एमालेको स्थानीय तहको अधिवेशन हुने
काठमाडौं । नेकपा एमालेले कार्तिकको पहिलो साता देशैभरिका वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गर्दैछ । आगामी मंसिर १० गतेसम्म १० औँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेले स्थानीय अधिवेशनको तयारी तीब्र पारेको हो । एमालेको असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानलाई प्रकाशनको तयारीसहित स्थानीय तहमा हुने अधिवेशनमा कायम हुने पदाधिकारी सङ्ख्या निर्धारण गरेको हो ।
एमालेको पारित विधान प्रकाशन भई चाँडै तल्लो कमिटीमा पठाइने र सोही बमोजिम अधिवेशन हुने बताएका हुन् । एमालेको यही कात्तिक ६ गते देशैभरिका ६ हजार ७ सय ४५ वडा र कात्तिक ९ गते ७ सय ५३ स्थानीय तहमा अधिवेशन भई नयाँ नेतृत्व चयन हुने बताइएको छ । अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहनेछन् । गाउँ÷नगरपालिका– ७५, उपमहानगरपालिका– ८५, महानगरपालिका– १०१ सदस्य चुनिनेछन् ।
राष्ट्रिय महावधिवेशनपूर्व सदस्यता नविकरण, वडा र पालिकास्तरको अधिवेशनको कार्यतालिका बनाइएको छ । सो पार्टीले २०७५ साल जेठ २ गतेको सदस्यतालाई आधार मानेर एकीकरणका क्रममा आबद्ध भएका सदस्यसमेतको पार्टी सदस्यता नवीकरण अगाडि बढाइने र २०७५ साल जेठ ३ पछि दिइएका नयाँ सदस्यको पनि नवीकरण असोज मसान्तसम्म गर्ने निर्णय गरेको छ ।
