संघीय संसदको दुबै सदनमा दशैं विदा

तु खबर संवाददाता
२०७८ आश्विन २५, सोमबार १६:१४
file photo

काठमाडौं । संघीय संसदको दुवै सदनमा दशैं विदा सुरु भएको छ । सोमबारको बैठकपछि प्रतिनिधिसभा र राष्ट्रिय सभामा दशैं विदा दिइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ९ गते मंगलबारसम्मका लागि बैठक स्थगित गरेका छन् भने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना नहुँदासम्मका लागि बैठक स्थगित गरेका छन् ।

हिन्दु नेपालीहरुको पर्व दशैं शुरु भइसकेको अवस्थामा अब सांसदहरुले पनि दशैं विदा पाएका छन् । धेरै सांसदहरु गाउँ गइसकेकाले उनीहरु सोमबारको बैठकमा पनि उपस्थित भएका थिएनन् । सोमबारको बैठक पनि नेकपा एमालेका सांसदहरुको विरोधका बाबजुद संचालन गरिएको थियो । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेका थिए भने राष्ट्रियसभामा एमाले सांसदहरु मौन रहेर उभिए बैठक अवरुद्ध गरेका थिए ।