काठमाडौँमा कांग्रेसको नगर अधिवेशन आज हुँदै

तु खबर संवाददाता
२०७८ आश्विन १६, शनिबार ११:३२

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज काठमाडौंमा नगरअधिवेशन हुँदैछ । एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाडौंमा आज अधिवेशन हुने कांग्रेसले जनाएको छ । दक्षिणकाली नगरपालिकाबाहेक सबै नगरमा अधिवेशन हुने कांग्रेसले जनाएको छ । दक्षिणकाली नगरपालिकाको एक वडामा अधिवेशन नभएकाले त्यहाँ अर्को मितिमा नगरअधिवेशन हुने जनाइएको छ ।

काडमाडौंका अधिकाँश नगरमा मतदानबाटै नेतृत्व चयन हुने देखिएको छ । पार्टीको केन्द्रमा प्रष्ट तीन गुट देखिएपनि काठमाडौंमा भने दुई समूहबीच प्रतिस्पर्धा पक्कापक्की भएको छ । काठमाडौंको संस्थापन भनेर पूर्वमहामन्त्री प्रकाशमान सिंहको समूहलाई चिनिन्छ । अघिल्ला महाधिवेशनमा उनलाई भीमसेनदास प्रधान र गगन थापाहरुको समूहले चुनौती दिने गरेको थियो । तर यो पटक काठमाडौंमा कांग्रेसको आन्तरिक समीकरण बदलिएको छ ।

प्रधान सभापति शेरबहादुर देउवा समूहसँग नजिक मानिएका छन् । त्यस्तै थापा, प्रकाशमान तिर नजिक छन् । काठमाडौंका कतिपय नगरको सभापतिका लागि प्रकाशमान समूहकै नेताहरुबीच प्रतिस्पर्धा हुने देखिएको हो । १५ वर्षपछि काठमाडौं महानगरपालिकामा कांग्रेसको अधिवेशन हुन लागेको हो । विवादका कारण काठमाडौं महानगरपालिकामा १२औं र १३औं अधिवशेन भएका थिएनन् । डेढ दशकपछि कांग्रेस काठमाडौं महानगर कमिटीले नयाँ नेतृत्व पाउन लागेको हो । महानगरको अधिवेशन कांग्रेसभित्र प्रतिष्ठाको विषय बनेको छ ।