थप ११५८ जनामा कोरोना संक्रमण

तु खबर संवाददाता
२०७८ आश्विन १२, मंगलवार १७:३२

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १ सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ एन्टिजेन परीक्षण गर्दा २५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ । तीमध्ये हालसम्म ११ हजार ११५ जनाको मृत्यु भएको छ भने ७ लाख ६३ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने १ हजार ३१८ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ जना रहेका छन् । जसमध्ये १७ हजार १२५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २९७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३६४ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै, १० वर्ष मुनिका १४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७८ जना कोरोना संक्रमित थपिएका छन् ।

मकवानपुरमा थपिए १९ जना कोरोना संक्रमित
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १९ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५६ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, आज संक्रमण पुष्टि हुनेमा सबै जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज थप १९ जनामा कोरोना पुिष्ट भएको हो ।

यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार २ सय २९ जना पुगेको छ । तीमध्ये हालसम्म १४ हजार ८ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना मात्रै संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यस्तै, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ६४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा भने कुनै पनि व्यक्तिको निधन नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।