कांग्रेस हेटौंडा उपमहानगर अधिवेशन: राउतको प्यानल सार्वजनिक
मकवानपुर । नेपाली कांग्रेसको नगर तथा पालिकास्तरको निर्वाचन भोलि असोज ९ गते हुँदैछ । कांग्रेसको हेटौंडा उपमहानगरपालिका सभापतिमा महेन्द्र राउतले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । उनले आज पत्रकार सम्मेलन गरेका आफ्नो चुनावी प्यानल सार्वजनिक गरेका हुन् ।
वि.स २०४६ सालको आन्दोलनदेखि विद्यार्थी राजनीतिमा लागेका राउतले नेपाल विद्यार्थी संघ (नेवि) संघ जिल्ला कोषाध्यक्ष, जिल्ला सभापति हुँदै नेपाली कांग्रेसको विभिन्न तहमा आफ्नो सक्रिय भूमिका रहँदै आएको बताएका छन् । नेपाली कांग्रेसको १२ औँ देखी १४ औँ अधिवेशनसम्म क्षेत्रिय प्रतिनिधिमा विजयी हुँदै आएका राउत कांग्रेसमा सबैलाई समेटेर अगाडी बढाउन सक्ने क्षमता भएकोले नगर सभापतिमा आफ्नो दाबेदारी रहेको बताए ।
राउतको प्यानलमा उप–सभापती पदको उम्मेदवारहरुमा रोशन गोले र ज्योती कोईराला रहेका छन् भने सचिवको उम्मेदवार गंगाप्रसाद पौडेल र कुमार पोखरेल छन् । त्यस्तै सो प्यानलबाट सहसचिव पदमा अन्जनी पराजुली र सोममाया मोक्तानले उम्मेदवारी दिँदै छन् । सदस्यहरुमा भने सरस्वती श्रेष्ठ ,दोर्णचार्य दाहाल, अमित बिक ,भिम देउला, सरस्वती श्रेष्ठलगायत उम्मेदवार बनेका छन् । यसअघि पार्टीको जिल्ला सदस्य समेत रहेका राउत नगरसभापतिमा आफ्नो जित हुने बताउँछन् । राउत पेशाले ईलेक्ट्रोनिक्स व्यवसायी हुन् ।
मकवानपुर उद्योग वणिज्य संघमा पूर्व महासचिव भएर समेत उनले आफनो अनुभव संगालेको बताउँछन् । आफु युवा राजनीतिबाट आएकाले युवालाई नै समेटेर अगाडी बढ्ने उनको योजना छ । अब कांग्रेस युवाको काँधमा आईपरेको बताउँदै आफुले लामो विद्यार्थी राजनीतिमा पाएको सांगठनिक अनुभव प्रशिक्षित गराएर पार्टीलाई अग्रस्थानमा लग्ने राउतको भनाई छ । पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका सल्लाहकार प्रभात दाहाल, पूर्व जिल्ला सभापति रामचन्द्र अर्याल, प्रवक्ता प्रदिप कोइराला, नेतृ रिता खनाल, इन्दिरा न्यौपाने, उमा दाहाल, लगायतको उपस्थिति रहेको थियो ।
