‘मउवा संघलाई व्यवसायीप्रति थप जिम्मेवार बनाउँछु ’
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा युवा व्यवसायी एवम् विनय एण्ड विकेश सप्लायर्सका संचालक विकेशलाल श्रेष्ठले वाणिज्यतर्फको सदस्य पदमा आफ्नो उम्मेदवारी दावी गरेका छन् ।
बर्षौँदेखि खेलौना व्यवसाय संचालन गर्दै आएका श्रेष्ठले उद्योगी व्यवसायी तथा उपभोक्ताको हकहितका काम गर्ने प्रतिवद्धतासहित चुनावी घोषणापत्र समेत सार्वजनिक गरिसकेका छन् ।
पहिलो पटक मउवा संघको सदस्य पदमा उम्मेदवारी दिने तयारी गरिरहेका श्रेष्ठ निर्वाचित भएपछि उद्योगी व्यवसायी तथा उपभोक्ताको समग्र हितका लागि निकै जिम्मेवार भएर काम गर्ने बताउँछन् ।
उद्योगी व्यवसायी र मउवासंघबीच आवश्यक सहयोग, सहकार्य तथा समन्वयका लागि एउटा पुलको निर्माण गर्नुपर्ने आवश्यता रहेको र आफु निर्वाचित भएमा त्यसका लागि पहल गर्ने श्रेष्ठले बताए ।
उनले व्यवसायीको राय/सुझावसहित ८ बुँदे घोषणापत्रसमेत सार्वजनिक गरिसकेका छन् ।
सानादेखि ठूला उद्योगी व्यवसायीहरुको समस्या पहिचान गर्न आफै घरदैलोसम्म पुग्ने र समाधानको लागि प्रयास गर्नुको साथै निरन्तर व्यवसायीको साथमा रहने उनको चाहाना छ ।
‘म र मेरो होइन हामी र हाम्रो भन्ने भावनाका साथ संघको बृहत्तर हितमा आफ्ना पाइलाहरु अगाडि बढाउने छु । व्यवसायिक हक, हित र अधिकार सुनिश्चित गर्नको लागि डटेर लाग्ने छु । साथै निर्वाचित भएपछि राजनैतिक आस्था र बिचारबाट भन्दा पनि आम व्यवसायीहरुको सुझाव अनुसार मार्गनिर्देश हुँदै आफ्नो र अर्कोबीच विभेद नगरी यो उर्जाशिल समय सबै व्यवसायीहरुको सेवामा अहोरात्र लगाइ रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उनले भने ।
प्रत्येक दिन सयौं मकवानपरे युवाहरु विदेशिएको भन्दै उनीहरुलाई संघमार्फत् विभिन्न व्यवसायीक र उधमशिल तालिम प्रदान गरी स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न पहल गर्ने उनको योजना छ ।
मउवा संघलाई प्रविधिमैत्री बनाउँदै साना तथा घरेलु उद्योग र आन्तरिक राजश्व कार्यालयमा ३६५ दिन नै हेल्प डेक्सको स्थापना गरी व्यवसायीहरुलाई सहजिकरण गर्ने लागि पर्ने उनी बताउँछन् ।
संघमा विभिन्न कारणले आवद्ध हुन नसकेका र दुरदराजसम्मका र साना तथा ठूला व्यवसायीहरुलाई संधमा आबद्ध गराउने र सम्पूर्ण व्यवसायीहरुलाई कर सम्बन्धी आधारभूत र विशेष तालिम निःशुल्क उपलब्ध गराउन पहल गर्ने उनको योजना छ ।
विशेषगरी घर बहाल कर सम्बन्धी समस्या समाधान गर्न सरोकारवालासँग अन्तरक्रियाको वातावरण निर्माण गर्ने र घर बहाल कर सम्बन्धित घरधनीले प्रदान गर्नुपर्ने प्रचलित नियमलाई कार्यन्वयनको तहमा पुर्याउन सबै पक्षसँग ब्यापक छलफल र बहस चलाउने उनले दावी गरे ।
मउवा संघलाई उद्योगी व्यवसायीप्रति जिम्मेवार र उत्तरदायी बनाउन पहल गर्नुको साथै उद्योगी व्यवसायीलाई पनि संघको जिम्मेवारी प्रत्याभूति हुने गरी काम गर्ने श्रेष्ठले बताए ।
व्यवसायिक समानता र एकरुपता कायम गर्ने, व्यवसायीलाई उपभोक्ताप्रति जिम्मेवार बनाउने, समयसमयमा अनुगमन गर्ने र सहयोग सुझाव प्रदान गर्ने, व्यवसायीलाई पर्ने गरेका प्रशासनिक जटिलता अन्त्य गर्नको लागि पहल गर्ने उनले सुनाए ।
संघको ५४ औँ साधारणसभा चैत २१ गते र निर्वाचन तालिका २३ गतेका लागि तय भएको छ ।
