मनकारी विकेशलाल

तु खबर संवाददाता
२०८० पुष १२,बिहीबार १९:१३

हेटौंडा । मानव सेवाको महत्वपूर्ण अंश समाज सेवा हो । समाज सेवाको लागि केवल धन भएर हुँदैन ह्रृदयदेखि नै यसको गहिराइलाई आत्मसाथ गर्न सक्नुपर्छ । सामाजिक भावना नभएका र पारिवारिक दायित्वबोध नभएका उमेरले तन्नेरीहरु पनि निराशाको दल–दलमा फँसिरहेका हामी देख्न सक्छौँ । तर, बाल्यकालदेखि जीवनका दर्जनौँ बसन्त पार गरिकक्दासम्म उही जोशजाँगर, उही सहयोगी भावना र उर्जाका साथ समाजसेवाको कर्ममा क्रियाशील विकेशलाल जस्ता व्यक्ति कमै मात्र भेटिन्छन् ।

सहयोगी भावना र सामूदायिक हितका लागि निस्वार्थ लागिरहेका विकेशलाल श्रेष्ठ हेटौंडा–१ चौकिटोलका स्थायी बासिन्दा हुन् । २०४४ सालमा जन्मिएका उनको समाजसेवामा सानैदेखि रुची थियो । उनी सहयोग गर्न भनेपछि मरिहत्ते गर्थे ।

मानिसमा रहेको मानवतावादी सोचले नै परोपकारी भावनाको विकास हुने र परोपकारी भावनाले नै मानिसलाई जीवनको सही अर्थ दिने उनको बुझाइ छ । ‘जब मानिसलाई अरुको दुःखमा दुख्न थाल्छ र समभाव जागृत हुन्छ, त्यँहीबाट परोपकारी भावनाको सुरुवात हुन्छ । अरुको पीडामा जब आँखाहरु टिल्पिलाउँछन् र मुटु भक्कानिन्छ, मानिसमा समाजसेवाको भावना जागृत हुन्छ, अनि उसले खोज्न थाल्छ मानवको सेवा गर्ने बाटो ।’ उनले भने ।

कष्टपूर्ण जीवन विताइरहेका विकले पाए नयाँ घर

जीर्ण घरमा कष्टपूर्ण जीवन विताइरहेका हेटौंडा– १ भैरवडाँडाका पाण्डु विकले नयाँ घर पाएका छन् । उनैको पहलमा व्यवस्थित शौचालयसहितको २ कोेठे पक्कि घर निर्माण गरी २०७७ असोजमा हस्तान्तरण गरिएको थियो ।

विकेशलाल हेटौंडा जेसीजमा आवद्ध थिए । सन् २०२२ का अध्यक्ष पवनकुमार कंसाकारको नेतृत्वमा ‘समूदायसँग जेसीज’ कार्यक्रम अन्तरगत जेसीजको टोली भैरवडाँडा पुगेको थियो । जीर्ण घरमा कष्टपूर्ण जीवन विताइरहेका विक परिवारको अवस्था देखेर उनले नयाँ घर बनाएर दिने अठोट लिए र त्यसलाई पूरा गरे ।

‘पालको छानो रहेछ । दाउराले बारेको घर, ज्याला मजदुरी गरेर जसोतसो जीवन निर्वाह गर्दै आइरहनुभएको रहेछ उहाँहरु । सबैको सहयोगबाट हामीले उहाँहरुको ३ जनाको परिवारलाई पुग्ने गरी ब्लक लगाएर घर बनाइदियौँ । त्यो अभियानमा मलाई सहयोग गर्ने सबैलाई सम्झिरहेको छु ।’ उनले भने ।

घर हस्तान्तरण गरिँदै

पाण्डु विकको परिवारलाई हस्तान्तरण गरिएको घर ।

राप्ति किनारमा पालमा बसेका थापा दम्पत्तीलाई सहयोग

२०७८ मंसिरको महिना, कठ्याङ्ग्रिँदो जाडो । फिरन्ते जीवन विताइरहेका थापा परिवार त्यतिबेला राप्ति किनारमा पाल टाँगेर बसेको थियो । लत्ताकपडा र खाद्यान्न नहुँदा उनीहरु निकै कष्टपूर्ण जीवन विताइरहेका थिए । स्थानीय मिडियाले उनीहरुको पीडा समेटर समाचार प्रकाशन गरेपछि विकेशको ध्यान थापा परिवारतर्फ केन्द्रीत भएको थियो । उनले कष्टपूर्ण जीवन विताइरहेको सो परिवारलाई लत्ताकपडा र खाद्यान्न सहयोग गरे ।

सिरक डसना, खाधन्न, भाँडाकुँडा, तरकारी तथा अन्य दैनिक जीवनमा उपभोग हुने सामग्रीसहित करिब १५ हजार बराबरको राहत सामग्री सहयोग गरे । राजाराम बोगटीबाट प्राप्त भएको नगद ५ हजार रुपैयाँ पनि हस्तान्तरण गरे ।

बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री

विकेशलालले २०७९ चैत ३ गते हेटौंडा–११ गोल्फिनटारस्थित शंकरज्योती आधारभूत विद्यालयका करिब ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरे । उनले विभियाना फाउन्डेसनमार्फत् सो सामग्री सहयोग गरेका हुन् । सामाजिक काममा सक्रिय उनले आफ्नी ६ बर्षीया छोरी विभियानको नाममा फाउण्डेशन स्थापना गरेका थिए । त्यतिबेला बालबालिकाहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री उपलब्ध गराइएको थियो ।

त्यस्तै हेटौंडा–७ न्युरेनीस्थित पशुपति मन्दिरलाई हस्टविन सहयोग गरिएको थियो । मन्दिरमा फोहोर व्यवस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले ६ थान डस्टविन सहयोग गरिएको थियो । उक्त ६ थान डस्टविन श्रेष्ठ र उनकी ६ बर्षीया छोरी विभियाना श्रेष्ठले संयुक्त रुपमा मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद घिमिरेलाई हस्तान्तरण गरेका थिए ।

डस्टविन सहयोग गर्दै विकेशलाल र उनकी छोरी

मृगौला पीडितलाई नगद सहयोग

हेटौंडा १ निवासी ५६ वर्षीया मृगौला पीडित राधिका ठकुरीलाई विकेशलालले उपचार खर्चमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगद सहयोग गरे । केही महिनादेखि आर्थिक अभावका कारण उपचार पर्खिरहेकी ठकुरीलाई २०७६ असार ९ गते उनले नगद ८२ हजार रुपैयाँ हस्तान्तरण गरे । उनको उपचारमा सहयोग गर्न पहल गरिरहे ।

ठकुरी मृगौला पीडित थिइन् । उनको दाँया गोडासमेत काटनुपर्ने भएकाले श्रेष्ठले ठकुरीको जीवन बचाउँन आर्थिक संकलन अभियाननै चलाएर संकलित ८२ हजार रुपैयाँ ठकुरीको श्रीमान चुर्ण विक्रम ठकुरीलाई हस्तान्तरण गरेका थिए ।

त्यस्तै २०७६ चैतमा आखाँमा चोट लागी गम्भीर घाइते भएका हेटौंडा १७ राजदेवीका ६ वर्षीय बालक सन्तोष कार्कीको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगद ६ हजार रुपैयाँ बालककी आमालाई हस्तान्तरण गरे । उनले उपचारको लागि काठमाडौँ पठाउन गाडिको व्यवस्थापनसमेत मिलाइदिएका ।

सुरक्षाकर्मीलाई हौसला प्रदान गर्न फिल्डमा पुगेका विकेशलाल

कोरोना संक्रमितलाई राहत सामग्री, सुरक्षाकर्मीलाई हौसला

श्रेष्ठले सामाजिक क्षेत्रमा आफ्नो सक्रियता बढाउँदै लगेका थिए । २०७८ वैशाख ताका कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको थियो । पटक पटक लकडाउन गरिएको थियो । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि अहोरात्र खटिएका सुरक्षाकर्मीलाई हौसला प्रदान गर्न विकेशलाल फिल्डमै पुगे र सुरक्षाकर्मीहरुलाई पिउने पानी र दिवा खाजा उपलब्ध गराउन थाले ।
‘विपदको समयमा सबै क्षेत्रमा सरकारको पहुँच नपुग्न सक्छ । विपदमा सरकारी गैरसरकारी संघ संस्था, विभिन्न निकायहरु र नागरिकको पनि सक्रियता आवश्यक हुन्छ । निषेधाज्ञाको अवधिमा खटिनुभएका सुरक्षाकर्मीलाई दिवा खाजा खुवाएर हौसला बढाउन मन लाग्यो । निषेधाभर सोही काममा व्यस्त भएँ ।’ उनले भने ।

त्यतिबेला उनले रोटरी क्लब, लियो क्लब जस्ता विभिन्न युवा संगठनको सहयोगबाट अस्पतालमा अक्सिजन सिलिन्डर हस्तान्तरण गर्ने, आइसोलेशनमा रहेकाहरुलाई पौष्टिक आहार तथा खाद्यान्न सहयोग गर्ने कार्यमा आफुलाई सक्रिय तुल्याए । कोरोना महामारीको पहिलो चरणमा उनले हेटौंडाका ७० परिवारलाई खाद्यान्न सहयोग गरे । सामाजिक सञ्जालमार्फत् ५ लाख रुपैयाँ संकलन गरी हेटौंडाको १९ वटै वडामा राहतसामग्री पनि वितरण गरे ।

विकेशलाल आफ्नो वा परिवारका अन्य सदस्यको जन्मदिन परोपकारी काम गरेर मनाउने गर्छन् । खुसीयाली बाँड्नुपर्दा होस् या कुनै चाडपर्वमा उनी आफुलाई सामाजिक हितकै काममा व्यस्त राख्छन् ।

जन्मदिनमा उनी कहिले मामाघर नेपाल, कहिले मानव सेवा आश्रम त कहिले अन्य परोपकारी संघ संस्थाहरुमा पुगेर त्यहाँ आश्रितहरुसँग खुसी साटासाट गर्छछन्

मामाघर नेपालमा जन्मदिन मनाउँदै विकेशलाल

विकेशलाल र जेसीज

२०४४ सालमा हेटौंडा १ चौकीटोलमा जन्मिएका विकेशलाल हेटौंडाका सफल व्यवसायी हुन् । उनले समाजसेवीका रुपमा आफ्नो पहिचान स्थापित गराएका छन् ।

लियो लायन्सलगायत विभिन्न संघसंस्थामा रहेर कुशल नेतृत्व प्रदान गरिसकेका उनी मकवानपुर उद्योग वाणिज्य संघको कार्यसमितिमा रहेर व्यवसायीहरुको हकहितको लागि आवाज उठाइरहेका छन् ।

अग्रगति बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष र मकवानपुर उसु संघको कोषाध्यक्ष नेवा गुठि खलको हेटौंडा उपमहानगर अध्यक्ष तथा जिल्ला फूटबल संघको सदस्यलगायत विभिन्न संघसंस्थाका विभिन्न पदमा बसेर आफ्नो क्षमता निखारिरहेका उनी अहिले जेसीजकर्ममा सक्रिय छन् र जेसीजको अभियानलाई समूदायसम्म पुर्याउन तल्लीन छन् ।

राजनीति शास्त्रमा स्नातकोत्तर गरेका विकेशलालले उनी विगत ६ वर्षदेखि जेसीज अभियानमा छन् । सन् २०१८ मा हेटौंडा जेसीजको सदस्यता लिएका उनले २०१९ मा खेलकुद संयोजक, २०२० मा उपाध्यक्ष र २०२१ मा शाखा सम्पादकको जिम्मेवारी पाए । २०२२ मा महासचिवको जिम्मेवारी सम्हालेका उनी हाल कार्यकारिणी उपाध्यक्ष छन् ।

जेसीज वर्ष २०२४ मा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका उनले अग्रजहरुको मिहेनतबाट प्राप्त उपलब्धीलाई जोगाउँदै संस्थागत विकासको क्षेत्रमा मात्रै नभई जेसीजको प्रभाव समूदायस्तरसम्म पुर्याउन काम गर्ने बताएका छन् । जेसीजसँग समूदाय कार्यक्रम अन्तरगत अझै परिस्कृत एवम् प्रभावकारी ढंगबाट जनहितको क्षेत्रमा संस्थाको गतिविधि क्रियाशील बनाउन आफुले उम्मेदवारी दिएको उनको भनाई छ ।

युवा पुस्ताको क्षमता विकास, सामुदायिक विकास, व्यावसायिक विकास र अन्तर्राष्ट्रिय क्षेत्रमा भएका राम्रा अध्यासहरुलाई स्थानीयस्तरमा कार्यान्वयनमा ल्याउन पहल गर्नेछु । उनले भने, हामी विधिको शासनमा विश्वास गर्छौँ । जेसीजले त्यसका लागि नेतृत्व गर्नेछ ।

‘अझै पनि जेसीजबारे धेरैलाई थाहा छैन, हामी जेसीजलाई समूदायस्तरसम्म पुर्याउँछौँ । कुराले होइन, हाम्रा गतिविधिमार्फत् समाजमा प्रभाव छाड्दै जान्छौँ । उद्घोषणकला, भाषणकला, पार्लिमेन्ट्री मिटिङ प्रोसिडियरसम्बन्धि र समय व्यवस्थापनसम्बन्धि तालिमहरु गरिरहेका छौँ त्यसलाई अझै बढाउँछौँ । दूरदराजसम्म पुगेर स्वास्थ्य शिविर चलाउँछौँ । बेसाहाराको साहारा बन्ने प्रयास गर्छौँ, पीडामा रहेकाहरुको आशु पुछिदिन्छौँ । हामी यहीँ हुन्छौँ, सुख दुखमा साथमै हुन्छौँ ।’ उनले भने ।

जेसीजमा एक व्यक्ति, एक पद र एक कार्यकालको अवधारणा भएकाले सबै साथीहरुलाई क्रमश समेटेर लैजान सकिने भन्दै उनले यसपटक आफ्नो जेसीजमार्फत् समूदायस्तरमा काम गर्ने चाहाना पूरा गरिदिन आग्रहसमेत गरे ।