काठमाडौं महानगरको नीति तथा कार्यक्रम: संस्कृति संरक्षणदेखि स्मार्ट सिटी निर्माणसम्म

तु खबर संवाददाता
२०८३ जेष्ठ ३१, आईतवार १८:४४

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने नारासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

आइतबार राष्ट्रिय सभागृहमा आयोजित नगरसभाको १९औँ अधिवेशनमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। महानगरले काठमाडौंको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक पूर्वाधार तथा आधुनिक सहरी सभ्यतालाई केन्द्रमा राखेर आगामी वर्षका योजना तर्जुमा गरिएको जनाएको छ।

नीति तथा कार्यक्रममा परिवर्तित सामाजिक, आर्थिक तथा प्रशासनिक परिवेशसँगै काठमाडौंवासीका अपेक्षा र आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य लिइएको उल्लेख गरिएको छ। महानगरले मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय तथा सुशासनयुक्त काठमाडौं निर्माणलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रगत कार्यक्रम अघि सारेको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को १७औँ नगरसभाबाट स्वीकृत नीति, कार्यक्रम तथा बजेटको समीक्षा गर्दै कार्यान्वयनका क्रममा रहेका बहुवर्षीय तथा अपूरा योजनाहरूलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने जनाइएको छ। यसका साथै नयाँ आवश्यकताअनुसार थप कार्यक्रमहरू समेत समावेश गरिएको महानगरले जनाएको छ।

महानगरपालिकाले काठमाडौंलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, स्वच्छ, स्वस्थ, हरित तथा नवप्रवर्तनमुखी स्मार्ट सहरका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य अघि सारेको छ। आर्थिक समृद्धि, सामाजिक न्याय, सार्वजनिक सेवा प्रवाहको गुणस्तर अभिवृद्धि, संस्कृति तथा सम्पदाको संरक्षण र दिगो सहरी विकासलाई सुनिश्चित गर्ने उद्देश्यसहित नीति तथा कार्यक्रम तयार गरिएको बताइएको छ।

संघीय राजधानी काठमाडौंको समग्र विकास, सुशासन प्रवर्द्धन तथा नागरिकमैत्री सेवा विस्तारमार्फत महानगरलाई थप व्यवस्थित, आधुनिक र प्रतिस्पर्धी सहरका रूपमा स्थापित गर्न प्रस्तुत नीति तथा कार्यक्रम प्रभावकारी हुने अपेक्षा महानगरपालिकाले गरेको छ।