पूर्व महासचिव राउतले भने – अध्यक्ष पदमा उम्मेदवारी पक्का !
मकवानपुर । उद्योग वाणिज्य संघ मकवानपुरका पूर्व महासचिव एवम् उद्योगी व्यवसायीका नेता महेन्द्र राउतले आसन्न मउवा संघको निर्वाचनमा आफ्नो अध्यक्ष पदमा उम्मेदवारी रहने दावी गरेका छन् ।
तु खबरसंगको संक्षिप्त कुराकानीको क्रममा राउतले अघिल्लो निर्वाचनमा आफुलाई प्राप्त भएको मत र मतदाताको सम्मानका लागि भएपनि आसन्न निर्वाचनमा आफ्नो उम्मेदवारी रहने बताए ।
‘महेन्द्र राउतले समग्र व्यवसायीक हितको काम गर्छ, भन्ने विश्वासका साथ व्यवसायी साथीहरुले मलाई अत्याधिक मत दिनुभएको थियो तर, प्राविधिक कारणले जित हाँसिल गर्न सकिन । मेरा मतदाताकोे मत र विश्वासको कदर गर्दै थप तयारीका साथ अबको निर्वाचनमा उम्मेदवारी दिनेछु ।’ उनले भने ।
‘अघिल्लो निर्वाचनमा हार व्यहोरेकै दिन मैले व्यवसायी साथीहरुलाई अर्को पटक उम्मेदवारी दिने बाचा गरिसकेको थिएँ । व्यवसायीको घरदैलोमा आवश्यक पर्दा पुगिरहेको पनि छु । यसपालि म अझै उत्साहित भएर तयारीमा लागेको छु । ’ उनले थपे ।
‘आकांक्षी धेरै छन्, मतदाता अन्यौलमा छन् नी ?’ भन्ने प्रश्नमा उनले सक्षम व्यक्तिले आकांक्षा व्यक्त गर्नु स्वभाविक भएको बताए ।
‘उम्मेदवारीको लागि उहाँहरु सबैजना सक्षम हुनुहुन्छ, उहाँहरुले आकांक्षा व्यक्त गर्नु स्वभाविक हो । तर, निर्वाचनसम्ममा अहिले चर्चामा आएका नामहरु नै उम्मेदवार बन्ने वातावरण बन्दैन । मतदाताको चाहाना र मेरो लगनशीलतालाई धेरैले समर्थन गर्नुहुन्छ । त्यो म मिलाउँछु ।’ उनले भने ।
मलाई सहयोग गर्न म सबै पक्षसँग अपिल गर्छु । मतदाताको समस्या बुझेर, उहाँहरुसंगै छलफल र परामर्श गरी निर्वाचनको एजेण्डा तय गर्छु । सबैको एजेण्डा बोकेर निर्वाचनमा होमिएको व्यक्तिमा आत्मविश्वास हुन्छ । हारसंग डर छैन तर यसपटक हार्ने छुट छैन ।’ उनले भने ।
संघले चैत २१ गते साधारणसभा र २३ गते निर्वाचनतालिका घोषणा गरेको छ ।
