कोरोना मुक्त भएका राउत परिवारले अनुभव सुनाए

तु खबर संवाददाता
२०७७ आश्विन १६, शुक्रबार १९:००

मकवानपुर । कोरोना मुक्त भएका मकवानपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव महेन्द्र राउतले आम मकवानपुरवासीलाई कोरोनाको संक्रमणबाट बच्नको लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गर्न सुझाव दिएका छन् ।

परिवारसहित आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनले संक्रमणको अवधिमा पर्ने समस्या र बच्ने उपाएबारे आफ्नो अनुभव आज संचारकर्मीहरुसंग सुनाएका हुन् ।  सोही क्रममा उनले सकेसम्म कोरोनाको संक्रमण हुनै नदिने ,यदी भइहाले उच्च मनोबलका साथ सतकर्ता अपनाउनुपर्ने बताए ।

उनले कोरोनाको संक्रमण पछि त्यसको असर आम मानिसमा एकै किसिमको नहुने बताए । आफ्नै परिवारमा श्रीमती र बच्चालाई संक्रमणको असर त्यति नदेखिएको भएपनि आफुलाई भने गम्भीर असर देखा परेको स्मरण गर्दै यसलाई सामान्य रुपमा लिन नहुने र बच्नका लागि सावधानी अपनाउनुपर्ने उनको सुझाव छ ।

‘परिवारमा सबैलाई कोरोना पोजेटिभ देखियो, आइशोलेशनमा बसेर स्वास्थ्य सुधारको प्रयास गरिरहेको थिएँ, तर स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि थप उपचारको लागि काठमाडौँको नर्भिक अस्पतालसम्म पुग्नुपर्यो – उनले भने ।

‘यहाँ कोरोनालाई दुई प्रकारले हेर्ने गरिएको छ । कतिपयमा कोरोना संक्रमण हुनासाथ मृत्यु भैहाल्छ भन्ने भ्रम छ भने कतिपयमा कोरोना संक्रमण भएर केहीपनि हुँदैन भन्ने छ, तर यसले मानिसको शरिर र उनको रोग प्रतिरोधात्मक क्षमताको आधारमा पनि असर पार्ने वा नपार्ने भन्ने हुने रहेछ ।’ – उनले भने ।

‘त्यसैले सकेसम्म कोरोना लाग्नै दिन हुँदैन, लागिहाले पनि उच्च मनोबल बनाएर उपचारको विधि अबलम्बन गर्नुपर्छ ।’ – उनले भने ।

२४ दिनपछि कोरोना मुक्त भएका राउतले आफु संक्रमणको अवस्थामा रहँदा स्वास्थ्य लाभको कामना गर्ने, उपचारमा खटिनेलगायतलाई आभार समेत व्यक्त गरेका छन् ।

राउतको श्रीमती भगवती थापाले श्रीमानलाई कोरोना देखिएर अवस्था जटिल बनेपछि आफ्नो रोगको चिन्ता भन्दा श्रीमानको चिन्ताले मानसिक सन्तुलनमा असर पुर्याएको बताईन् ।

छोरा दर्शन राउतले कोरोनाको संक्रमण भएपछि चिकित्सकको सल्लाह बमोजिम उपचारको विधि अपनाएको सुनाए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*