एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षमा मकवानपुरका केदार न्यौपाने

तु खबर संवाददाता
२०७८ आश्विन ८, शुक्रबार ०८:३२

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय उपाध्यक्षमा मकवानपुरका केदार न्यौपाने चयन भएका छन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको बिहिबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीको केन्द्रीय उपाध्यक्षमा न्यौपानेसहित राजेन्द्र पाण्डे, प्रमेश हमाल, धनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, धर्मनाथ शाह, जयन्ती राईलाई चयन गरेको हो ।

बैठकले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गठन गरेको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले एक अध्यक्ष, एक वरिष्ठ नेता, सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको छ । जम्मा ३५ सदस्यीय स्थायी कमिटी, ७१ सदस्यीय पोलिटब्यूरो र ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको खतिवडाले बताए ।

बैठकले ‘तत्कालीन कार्ययोजना’ २०७८ पारित गरेको छ । तीन महिनाभित्र सबै स्थानीय तहका वडामा कमिटी गठन गर्ने लक्ष्य राखिएको छ । बैठकले ७०१ सदस्यीय केन्द्रीय परिषद् गठन गर्ने निर्णय गरेको छ । पार्टीमा अनुशासन, निर्वाचन र लेखा गरी तीन आयोग रहने छन् । केन्द्रीय सल्लाहकार र ज्येष्ठ नागरिक मञ्च गठन गरिएको सो पार्टीले जनाएको छ । नेकपा (एमाले) बाट अलग भई गठन भएको एकीकृत समाजवादी पार्टीको यो केन्द्रीय कमिटीको यो पहिलो बैठक हो ।