एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०७८ आश्विन ४, सोमबार १०:०३
file-photo

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बैस्दैछ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो १ बजे बस्ने भएको हो ।

सो बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान, राजनीतिक र सांगठनिक प्रतिवेदनलाई अन्तिम रुप दिने जनाइएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल, संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा आइतबार प्रस्तुत राजनीतिक, सांगठनिक र विधान प्रतिवेदनमाथि छलफल हुनेछ । उक्त तीन वटै प्रस्तावमाथि उपमहासचिव तथा तेस्रो धारका नेता घनश्याम भुसालले लिखित टिप्पणी राखेका छन् ।

माधव नेपालको साथ छोडेर ओली पक्षमा आएका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, अमृत बोहोरा र रघुजी पन्तलाई एमालेभित्र तेस्रो धारका नेताका रुपमा लिइन्छ । लामो समयको मनमुटावपछि माधव नेपालले भने अहिले नयाँ पार्टी दर्ता गराएका छन् । उनले एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गराएका हुन् ।