पूर्वी चितवनमा एक पुरुषको हत्या, ठकुरी पक्राउ
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा एक पुरुषको हत्या भएको छ । राप्ती नगरपालिका वडा नम्वर ९ स्थित शितल टोलका अन्दाजी ५९ वर्षीय कान्छा लामाको हत्या भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
लामाको हत्यामा संगल्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक लामा छिमेकी दशरथ ठकुरी रहेका छन् । ठकुरीले लामालाई टाउकोमा फलामको गलले हिर्काएर हत्या गरेको प्ररीले जनाएको छ । शुक्रबार बेलुका उनीहरूले सँगसँगै खानपिन गरेको र सोही क्रममा विवाद हुँदा दशरथले आक्रमण गरेको प्रहरीको भनाइ छ ।
घटनास्थलबाट शवसँगै हत्या आरोपीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय बीच झडपसमेत भएको थियो । स्थानीयले पक्राउ परेका व्यक्तिमाथि आक्रमण गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । भीड नियन्त्रण गर्न प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो । झडपमा प्रहरी निरीक्षकसहित पाँच जना प्रहरी र दुई जना स्थानीय घाइते भएका छन्। उनीहरूको उपचार भैरहेको जनाइएको छ । मृतकको शवलाई भरतपुर अस्पताल राखिएको छ ।
बिद्युतीय पासोमा परेर मृत्यु
बर्दिया । बर्दियामा जंगली जनावरलाई थालेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारु रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रहरीका अनुसार, शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला छिमेकीले बँदेललाई थापेको विद्युतीय पासोमा परेर उनीहरुको मृत्यु भएको हो । खेतमा विद्युतीय पासो थाप्ने छिमेकी ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय भुरिगाउँमा राखिएको जनाइएको छ ।
