माधव नेपाललाई एमालेमा फर्किन अष्टलक्ष्मी शाक्यको आग्रह

तु खबर संवाददाता
२०७८ भाद्र ३१, बिहीबार १७:१७
file-photo

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई एमालेमा फर्किन आग्रह गरेकी छन् । बिहिबार एमाले काठमाडौं जिल्ला कमिटीका कार्यकर्तालाई सम्बोधन गर्दै शाक्यले नेपाललाई एमालेमा नै फर्किन आग्रह गरेकी हुन् ।

उनले माधव नेपाल आफूहरुको नेता भएको र एमाले बनाउन जीवन दिएको भन्दै पार्टीमा फर्किन आग्रह गरेकी हुन् । उनले नेपाललाई भनिन्, ‘एक पटक मनमनमा समीक्षा गर्नुस्, फर्किएर आउनुस् । सुदृढ एमाले बनाउनका लागि तपाईको भूमिका आवश्यक छ ।’

सोही क्रममा कार्यकर्तालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब आफ्नो पार्टीमा माधवकुमार नेपालको आवश्यकता नरहेको बताएका छन् । अध्यक्ष ओलीले शाक्यलाई जवाफ दिँदै भने, ‘सडेको र बिग्रेका तत्वहरु पार्टीबाट बाहिरिएको र पार्टीलाई त्यसको आवश्यकता छैन ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘हुन त केही साथीहरु अहिले पनि भन्नुहुन्छ, माधव कमरेड आउनुस् तपाईंको आवश्यकता छ । फेरि फुटाउन उहाँको आवश्यकता छ यहाँ ? फेरि फुटाउने ? के गर्न आवश्यकता छ माधव कमरेडको म बुझ्दिनँ ।’ माधव नेपालले पार्टीमा गुटबन्दी मात्र गरेको र साढे ३ वर्षमा सरकारको पक्षमा एक शब्द नबोलेको उनले बताए ।

हालसालै नेकपा एमाले फुटेका छन् । माधवकुमार नेपालले नयाँ पार्टी दर्ता गराएका छन् । नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गराएका हुन् । उनले गत भदौ ९ गते निर्वाचन आयोगमा गएर पार्टी दर्ता गराएका हुन् । सो पार्टीमा नेपालसहित ३० सांसद रहेका छन् ।