काठमाडौंबाट १४ रोहिंग्या शरणार्थी पक्राउ
काठमाडौं । काठमाडौंबाट १४ जना रोहिंग्या शरणार्थी पक्राउ परेका छन् । अवैध रुपमा नेपाल प्रवेश गरेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, बंगलादेशबाट झापाको काँकडभिट्टा सीमानाका हुँदै नेपाल प्रवेश गरेका उनीहरु दलालको माध्यमबाट दुई दिअघि बौंद्ध आइपुगेको थिए । प्रहरीको कडाइका बीच पनि उनीहरुमध्ये केही संख्यामा यसअघि नै शरणार्थीको रुपमा काठमाडौं प्रवेश गरेका थिए ।
त्यही क्रममा शरणार्थीको रुपमा नेपालमा बस्ने योजनाका साथ दुई दिनअघि पनि मानव तस्करको सेटिङमा उनीहरु नेपाल आएको हुनसक्ने प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धानका लागि अध्यागमन कार्यालयमा बुझाइएको जनाइएको छ । प्रहरीले उनीहरुलाई काठमाडौंसम्म ल्याउने कार्यमा संलग्न बंगलादेशी नागरिकलाई समेत पक्राउ गरेर अनुसन्धान थालेको जनाइएको छ ।
खोलाले बगाउँदा बालकको मृत्यु
काभ्रे । काभ्रेपलाञ्चोकमा रोशी खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोशी गाउँपालिका–५ का ८ वर्षीय अवि तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
मंगलबार विद्यालयबाट घर फर्किने क्रममा रोशी गाउँपालिका–९ कालोपुलस्थित पौडी खेल्ने क्रममा सो खोलाले बगाएर उनी बेपत्ता भएका थिए । उनको खोजतलासका क्रममा मङ्गलबार बेलुका सोही गाउँपालिकाको वडा नं ११ कालढुङ्गास्थित रोशी खोलाको किनारामा शव फेला परेको काभ्रे प्रहरीले जनाएको छ । तामाङ स्थानीय विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए । उनको शव परीक्षणको लागि धुलिखेल अस्पतालमा राखिएको छ ।
