हेटौंडाका अर्यालसहित चार जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दामा फरार चार जनालाई पक्राउ गरेको छ । प्रहरीले बैंकिङ कसुर मुद्दा, वन मद्दा, चेक अनादर र सवारी ज्यान मुद्दामा फरार चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ५ बस्ने कौशिमाया स्याङ्तान, बकैया गाउँपालिका वडा नम्वर ६ बस्ने गंगा लामा, सोही गाउँपालिका–३ बस्ने शिव बहादुर खुलाल र हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ बस्ने दशरथ अर्याल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, उच्च अदालत पाटन हेटौंडाको फैसलाले बैंकिङ कसुर मुद्दामा १० दिन कैद र ४ लाख १८ हजार २ सय ५० रुपैयाँ जरीवाना तोकिएका फरार प्रतिवादी स्याङतानलाई आइतबार पक्राउ गरेको हो । स्याङतानलाई इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसैगरी, जिल्ला अदालत हेटौंडा र उच्च अदालत पाटन हेटौंडाको फैसलाले वन मुद्दामा ३ लाख ५७ हजार ६ सय ४० रुपैयाँ जरीवाना तोकिएका फरार प्रतिवादी लामालाई प्रहरीले आइतबार हेटौंडा–५ बाट पक्राउ गरेको हो ।
यस्तै, मकवानपुर जिल्ला अदालत हेटौंडाको फैसलाले चेक अनादर मुद्दामा २ हजार रुपैयाँ जरीवाना तोकिएका फरार प्रतिवादी खुलाललाई प्रहरीले आइतबार बकैया–३ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
त्यस्तै, चितवन जिल्ला अदालतको फैसलाले सवारी ज्यान मुद्दामा २ हजार रुपैयाँ जरीवाना तोकिएका हेटौंडाका अर्याललाई आइतबार हेटौंडा–७ बाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।
उनका अनुसार, पक्राउ परेका चारै जनालाई जरीवाना भुक्तानको लागि मकवानपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
