एमाले र जसपाका जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय

तु खबर संवाददाता
२०७८ भाद्र १३, आईतवार १५:३६

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले भदौ २२ गतेसम्मद ल रोज्न पाउने भएका छन् ।

निर्वाचन आयोगले नेकपा एमाले र जसपाबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको हो । आयोगको आज (आइतबार) बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेका छन् । दुवै दलले गत भदौ ९ मा मान्यता पाएका थिए ।

अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिलाई २१ दिनभित्र दल रोज्न दिने व्यवस्था समेत छ । यसको लागि प्रदेशसभा सदस्यहरुले प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्नुपर्नेछ ।

त्यसको लागि सक्कल नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा/स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र लैजानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।