राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघद्वारा मामाघर नेपाललाई सहयोग
मकवानपुर । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले सडक बालबालिकाको क्षेत्रमा काम गरिरहेको मामाघर नेपाल नामक संस्थालाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
संघले आफ्नो ३२ औँ वार्षिकउत्सवको अवसर पारेर आज मामाघरलाई ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो ।
संघका केन्द्रीय कोषाध्यक्ष रविन्द्र चौँलागाईले हेटौंडा उपमहानगरपालिका वडा नम्वर–११ स्थित मामाघर नेपालको कार्यलयमै पुगेर संस्थाका संस्थापक संरक्षक अर्पण पराजुलीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय कोषाध्यक्ष चौँलागाईले मानव सेवाको क्षेत्रमा अहोरात्र खटिइरहेको मामाघर नेपाललाई सानै भएपनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताए ।
त्यस्तै संस्थाका संरक्षक पराजुलीले असहाय बालबालिकालाई संरक्षण गर्ने कार्यमा हातेमालो गर्ने, विभिन्न तरिकाले सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँक हेटौंडा शाखाका कर्मचारी विष्णु विश्वकर्मा, रामहरी अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य बलराम पुडासैनीलगायत बैंकका कर्मचारी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।



