माधव नेपालसँग नगएका नेताहरु एमाले स्थायी कमिटी बैठकमा जाने
काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नगएका नेताहरु एमाले स्थायी कमिटी बैठकमा जाने भएका छन् ।
नेकपा एमालेका ९ जना स्थायी कमिटी सदस्यहरु झण्डै ६ महिनापछि पार्टीको स्थायी कमिटी बैठकमा जाने भएका हुन् ।
बैठकमा उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त पनि सहभागी हुने भएका हुन् ।
सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलाबाट पुर्नस्थापित एमाले एकजुट हुन सकेको छैन । गत २८ फागुनमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षको मात्र बैठक राखेर एकलौटी निर्णय गरेपछि माधवकुमार नेपाल समूहले समानान्तर गतिविधि गर्दै आएको थियो ।
नेता नेपालले २ भदौमा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिएका छन् । तर लामो समय उनीसँग रहेका स्थायी कमिटीका अधिकांश नेता नयाँ पार्टीमा हालसम्म गएका छैनन् ।
