एमालेको स्थायी कमिटी बैठक आज बस्दै

तु खबर संवाददाता
२०७८ भाद्र ८, मंगलवार ०८:१५
file-photo

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने भएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार, बैठकमा एकता पक्षधर नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न गरेको माग लगायतका विषयमा छलफल हुनेछ ।

माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा नगएका युवराज ज्ञवाली, भिम आचार्य, भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न सोमबारसम्म अल्टिमेटम दिएका थिए ।

एमाले अध्यक्ष ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको साथ छोडेका ९ जना स्थायी कमिटी सदस्यहरूसँग सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्थायी कमिटी बैठकले १० बुँदे सहमतिअनुसार एमालेलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्काउने कार्यतालिका बनाउने नेताहरुको भनाइ छ ।