ओली पक्षकै सांसदद्वारा एमसीसी खारेज गर्न माग

तु खबर संवाददाता
२०७८ श्रावण २९, शुक्रबार १४:३०

काठमाडौं । नेकपा एमालेकी सांसद निरु पालले अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजीको माग गरेकी छिन् ।

सांसद पालले शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै एमसीसीमा उल्लेखित प्रावधान राष्ट्रघाती रहेको भन्दै खारेजको माग गरेकी हुन् ।

सांसद पालले पार्टीभन्दा माथि देश र राष्ट्रिय स्वाधिनता माथि हुने बताउँदै एमसीसी जस्तो राष्ट्रघाती सम्झौतामा किन राष्ट्रिय सहमति गर्न आवश्यक पर्यो भन्दै प्रश्न गरिन् ।

उनले भनिन्– ‘एमसीसीले तयार पारेको प्रस्तावनामा नेपाल सरकारले छलफल गर्न, व्यवस्था बुझ्न, स्पष्टिकरण सोध्न समेत पाउने छैन् । एमसीसीमा भएको कानुन नेपालको संविधानसँग बाझिएमा नेपालकै कानुन लागू हुनुपर्ने हैन र ? दुबै कानुन बाझिएको खण्डमा एमसीसीको कानुन लागू हुने भनिएको छ, एमसीसी परियोजनाले मागेको भूभाग र अन्य संरचना कानुनी रुपमा हस्तान्तरण गर्न माग गरिएको छ ।’

उनी आबद्ध दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने एमसीसी पास गर्न दवाव दिँदै आएका छन् ।