‘देशको सेवाका निम्ति काम गर्दै जाँदा संयोगले प्रधानमन्त्री भएको हुँ’

तु खबर संवाददाता
२०७८ श्रावण २६, मंगलवार १४:४१
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले आफू प्रधानमन्त्री बन्न नजन्मिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू  देशको सेवाको निम्ति जन्मिएको भएपनि काम गर्दै जाँदा संयोगले प्रधानमन्त्री भएको बताएका हुन् ।

अध्यक्ष ओलीले ६४ वर्षको उमेरसम्म प्रधानमन्त्री नभएको स्मरण गर्दै अनेक जालझेल र तिकडमका बीच पनि दुई पटक प्रधानमन्त्री बनेको बताए ।

उनले विगतमा आफूले जस्केलाबाट नभई मूलढोकाबाट सरकारमा आउने स्मरण गरेको भन्दै असाधारण जनमतका साथ फेरि पनि सत्तामा आउने जिकिर गरे ।

उनले यसअघि आफू विभिन्न राजनीतिक दलका कुण्ठा, जलन र ईर्ष्याबाट प्रधानमन्त्री बनेको नभई जनमतबाट प्रधानमन्त्रीमा निर्वाचित भएको पनि बताए । उनले आफू परमादेशबाट नभइ जनादेशबाट प्रधानमन्त्री बनेको पनि उल्लेख गरे ।