छोपेको त्रिपाल फाटिसक्यो, कहिले चल्छ रेल ?
धनुषा । धनुषाको इनर्वास्थित रेल्वे स्टेसनमा पार्किङ गरिएको नेपाली रेल छोपिएका त्रिपाल फाट्न थालेको छ । रेल ढाकेर राखिएको त्रिपाल फाटेर धेरै ठाउँमा रेल देखिन थालेको छ ।
गत बर्ष असोजमा नेपाल ल्याइएको रेल त्रिपालले छोपेर राखिएको थियो । त्रिपाल फाट्दा बर्षाको पानीले भिजेर रेलका केही भागमा खिया लाग्ने खतरा बढेको छ ।
छोपिएको आधाभन्दा बढी भागको त्रिपाल सडेर हटिसकेको सशस्त्र प्रहरीको इनर्वा बिओपीले जनाएको छ ।
जनकपुर जयनगर रुटमा रेल सञ्चालन गर्नका लागि गत बर्ष नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतबाट रेल खरिद गरेर ल्याएको थियो ।
हस्तान्तरण गरिएको रेल जयनगरबाट जनकपुरसम्म ल्याइएको थियो । २ असोजमा जनकपुर आएको रेल ३ असोज २०७७ देखि इनर्वा स्टेशनमा पार्किङ गरेर राखिएको छ ।
