औचित्य पुष्टि नभएपछि केपी सरकारले हामीमाथिको प्रतिबन्ध फुकुवा गर्यो– विप्लव नेता नयन

तु खबर संवाददाता
२०७८ असार ३०, बुधबार १७:१९

मकवानपुर । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा मकवानपुरका इन्चार्ज एवम् केन्द्रीय सदस्य इन्द्रबहादुर परियार नयनले केपी ओली नेतृत्वको सरकारले आफुहरुमाथि प्रतिबन्ध लगाउनुको औचित्य पुष्टि गर्न नसकेपछि बाध्य भएर प्रतिबन्ध फुकुवा गरेको बताएका छन् ।

आज हेटौंडामा एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नयनले ओली नेतृत्वको सरकारले आफुहरुसंग ३ बुँदे सहमति गरेको भएपनि धोका दिएको बताए ।

‘यहाँका बेतिथि, विसंगति, भ्रष्टाचार, अतिवाद र अन्यायकाविरुद्द चनाखो भएर हामी लागिरहेका थियौँ । सर्वहारा जनताको हितका लागि लडिरहेका थियौँ । केपी नेतृत्वको सरकारले सुरुमा हामीमाथि प्रतिबन्ध लगायो, औचित्य पुष्टि नभएपछि प्रतिबन्ध फुकुवा गर्यो र हामीसंग ३ बुँदे सहमति गर्यो । हामी सहमतिप्रति इमान्दार हुँदाहुँदै त्यसको कार्यान्वयन गर्नुको सटट केपी सरकारले हामीलाई धोका दियो ।’ उनले भने ।
आफुहरुको सहमति कुनै दल वा निश्चित सिदान्त बोक्ने समूहसंग नभई राज्यसंग भएकोले केपी ओलीको बर्हिगमन भएपनि आफुहरुसंग भएको सहमति कार्यान्वयन गर्ने जिम्मा राज्यको नै भएकोले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा गम्भीर हुनुपर्ने उनले बताए ।

२६ बुँदे निर्णय सार्वजनिक

सो पार्टीले असार २८ गते जिल्ला तहको बैठक बसी २६ बुँदे निर्णय भएको र त्यसको कार्यान्वयन क्रमश गरिँदै लैजाने पनि बताएको छ ।

वर्तमान समयमा जनतालाई कोरोनाविरुद्धको खोप अपरिहार्य भएकोले सबै भेदभाव रहित ढंगबाट सबैलाई खोप लगाए नलगाएको निगरानी गरी विभेदपूर्ण देखिएमा भण्डाफोर गर्ने जनाइएको छ ।

त्यस्तै जातीय छुवाछुत, महिलामाथि हुने सबैखाले उत्पीडनविरुद्ध अभियान चलाउने, सरकारी अस्पताल सुधार गर्ने, उपचार सेवा प्रभावकारी बनाउन दबाब सृजना गर्ने,, प्राकृतिक स्रोत साधन दोहनविरुद्ध आवाज उठाउने, मापदण्ड विपरित संचालनमा आएका क्रसर र अबैध आनी बन्ध गराउन दबाब दिइने लगायतका निर्णय सार्वजनिक गरिएको छ ।

पार्टीले सुकुम्वासी बस्ती, बाढी पहिरो र भूकम्पको जोखिम रहेको हेटौंडा १५ को चिप्लेटी र बांसघारीको ५० घरधुरीलाई उचित र सुरक्षित बासस्थानको व्यवस्था गराउन पहल गर्ने, खेतीयोग्य जमिन प्लटिङ गर्न रोक लगाउने, बैज्ञानिक वन व्यवस्थापनको नाममा गरिने वन विनास र नदीजन्य पदार्थको दोहनलाई रोक्ने लगायतका निर्णय गरेको हो ।

त्यस्तै सरकारी कार्यालय तथा स्थानीय तहमा हुने भ्रष्टाचार नियन्त्रणको लागि युवा परिचालन गर्ने, किसानलाई समयमै मल तथा वीउ बिजन उपलब्ध गराउन सम्बन्धित निकायमा पहल गर्ने, बोर्डिङ स्कुलले अनलाइन कक्षा संचालनको नाममा चर्को शुल्क असुलिरहेको भन्दै त्यसलाई रोक्ने, युवालाई दूव्र्यशनीबाट मुक्त पारी रोजगार र सशक्त बनाउने निर्णय भएको पार्टी मकवानपुरका सेक्रेटरी रामबहादुर घलान वाटरले बताए ।

उनले सर्वहारा जनताको लागि जुनसुकै अवस्थामा पनि आफुहरुको पार्टी लड्न तयार रहेको भन्दै यस्ता कार्यमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*